प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङहम फरेस्टलाई सेमिफाइनलको दोस्रो लेगमा २–० ले तथा समग्रमा ५–० को जित निकाल्दै युनाइटेड फाइनलमा पुग्न सफल भएको हो ।
युनाइटेडले पहिलो लेगमा ३–० को सहज जित हात पारेको थियो । ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
घरेलु टोलीले नटिङहमलाई लगातार दवाव झेलेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ७३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले मार्कस रासफर्डको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा फ्रेडले रासफर्डकै पासमा गोल गर्दै युनाइटेडको जित पक्का गराए ।
अब युनाइटेडले उपाधिका लागि अर्काे प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल २६ फेब्रुअरीमा हुनेछ । न्यूक्यासलले मंगलबार राति साउथह्याम्टनलाई २–१ ले समग्रमा ३–१ ले पराजित गर्दै ४७ वर्षपछि फाइनलमा स्थन बनाइसकेको छ ।