जर्मन युवा स्टार युसोउफा मौकोको चम्कँदा जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले सानदार जित निकाल्दा बायर्न म्युनिखले पनि रोमाञ्चक जित निकालेको छ ।
डर्टमुन्डले घरेलु मैदानमा भिएफएल बोचुममाथि ३–० को सहज जित निकालेको हो । डर्टमुन्डको जितमा युसोउफा मौकोकोले दुई गोल गर्दा जियोभानी रेनाले एक गोल गरे ।
सिग्नल इडुना पार्क डर्टमुन्डमा शनिबार राति भएको खेलको आठौं मिनेटमा मौकोकोको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता लिन सफल भयो । १२औं मिनेटमा जियोभानी रेनाले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई २–० ले अघि बढाए ।
२७औं मिनेटमा फिलिप होफमनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बोचुमले गोल अन्तर कम गर्न सकेन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मौकोकोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमुन्डले खेलमा ३–० को अग्रता कायम गर्न सफल भयो ।
यस सिजनमा १७ वर्षीय मौकाकोको यो १२औं खेलमा छैटौं गोल हो । उनले २ असिस्ट पनि दिएका छन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै डर्टमुन्डको जित नै पर्याप्त बन्यो ।
यस जितसँगै डर्टमुन्ड १३ खेलबाट २५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित बोचुम ७ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
अर्काे खेलमा हर्था बर्लिनमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै बायर्न जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।बायर्नको जितमा इरिक मेक्सिम चुपो मोटिङले दुई तथा जमल मुसिएलाले एक गोल गरे । हर्थाका डोडी लुकेबाकियो र डाभी सेल्केले गोल फर्काए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको १३ खेलबाट २८ अंक पुगेको छ । एक खेल कम खेलेको युनियन बर्लिनको २६ अंक छ । पराजित हर्था ११ अंक जोडेर १४औं स्थानमा रहेको छ ।