अफ्रिकी राष्ट्र मोरक्को फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।
विहीबार खल थुमामा रंगशालामा मोरक्को २-१ को जितका साथ समूह चरणमा अपराजित रह्यो । मोरक्कोका लागि हाकिम जिएच र यसुफ एन नेसरीले १-१ गोल गरे । क्यानडाले आत्मघाती गोल पाएको थियो ।
मोरक्कोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । क्यानडाका गोलरक्षक मिलान बोर्जानले पेनाल्टी क्षेत्र बाहिर आएर क्लियर गरेको बल हाकिम जिएचले पाएपछि कुनै गल्ती गरेनन् । जिएचले झन्डै २५ यार्ड टाढाबाट सिधै गोल गरेका थिए ।
२३ अौं मिनेटमा मोरक्कोले अग्रता दोब्बर पार्यो । अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले फिनिस गरे । पहिलो टचमा दुई डिफेन्डरको चुनौती चिर्दै पेनाल्टी क्षेत्र भित्र पसेका उनले दोस्रो टचमा सुन्दर गोल गरे ।
४० अौं मिनेटमा नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो ।
मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियम र क्रोएसियाबिच खेल गोलरहित बराबरीमा सकिँदा बेल्जियम बाहिरियो । क्रोएसिया ५ अंकका साथ उपविजेता बन्यो । बेल्जियम ४ अंकका साथ तेस्रो र अंकविहिन क्यानडा पुछारमा रह्यो ।