कतार विश्व कप सुरु हुन ५० दिन भन्दा कम समय बाँकी छ । तर, विश्व फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता सुरु हुनुअघि ठूलो समाचारले तरंग ल्याएको छ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले एक अन्तवार्ताका क्रममा कतार विश्व कप आफ्नो अन्तिम विश्व कप रहेको बताएका छन् ।
अर्जेन्टिनालाई विश्व कप उपाधि दाबेदार एक मध्येका रुपमा हेरिएको छ । गत वर्ष कोपा अमेरिका जितेका कारण पनि टोलीबाट थप आशा गरिएको छ । अर्कोतर्फ टोली पछिल्लो ३५ खेलमा अपराजित रहेको छ । मेस्सीले आफ्नो अन्तिम विश्वकपलाई यादगार बनाउन हर सम्भव प्रयास गर्नेछन् । मेस्सीलाई सोधिएको के यो तपाईको अन्तिम हो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘हो मेरो अन्तिम हो ।’
विश्व कप जित्ने सपना
मेस्सीले विश्व कप जित्ने आफ्नो तीब्र चाहना रहेको पनि बताएका छन् । उनले आफूले विश्वकपलाई व्यग्रताका साथ कुरिरहेको पनि बताएका छन् । म विश्व कप सुरु हुने दिन गनिरहेको छु । ‘सत्य यहि हो म हतारिएको छु ,’ मेस्सीले भनेका छन्, ‘अर्कोतर्फ विश्व कपअघि तनाव पनि हुने गर्छ ।’
मेस्सीले आफ्नो टोलीले विश्व कप जित्ने सम्भावना रहेको पनि बताएका छन् । ‘हामी अहिले उत्कृष्ट लयमा छौं । हामी बलियो समूहमा छौं । विश्व कपमा जे पनि हुन सक्छ,’ उनले थपे, ‘सबै खेल कठिन छन् । त्यसैले त विश्व कप विशेष छ । तर दाबेदार भनिएका टोलीले जित्छन् वा उपेक्षा अनुसारको प्रदर्शन गर्छ भन्ने हुँदैछ । इतिहास हेर्ने हो भने अर्जेन्टिना सदाबहार दाबेदार हो ।’
मेस्सी विश्व कप उपाधिको नजिक पुगेर चुेको थिए । मेस्सीले उच्च प्रदर्शन गरेको २०१४ को विश्व कपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।