नेपाली क्रिकेटको भविष्यप्रति निकै आशावादी देखिएका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएका छन् ।
पछिल्लो समय नेपाली क्रिकेट टिमको प्रर्दशन स्तर खस्किए पछि प्रशिक्षकमाथि पनि चर्को दवाव रहेको थियो । स्कटल्याण्डमा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालको खराब प्रदर्शन र त्यसभन्दा अगाडिको अमेरिका सिरिजमा पनि नेपालले राम्राे गर्न नसकिए पछि दबावमा आएका मुख्य प्रशिक्षक पुबुदुले आज पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामाकाे घाेषणा गरेका हुन् ।
नेपाली क्रिकेट टिमलाई कठिन अवस्थामा सम्हाल्न आइपुग्नु भएका पुबुदुबाट ठूलो अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको भन्दै आम समर्थक पनि निराश भएका छन् । पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गरे ।
उनले आफनो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रशिक्षक दासानायकेलाई गत गतवर्ष मङ्सिरमा खुला छनोटबाट दुई वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो ।
एक वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिनुलाई गम्भीर रुपमा लिइएको छ । पुबुदु प्रशिक्षक बन्न आउँदा नेपाल क्रिकेट संघ क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर युवा खेलाडी सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो भने खेलाडीहरुलाई कारबाही गर्दै केन्द्रीय सम्झौतामा पनि समावेश नगर्ने निर्णय गरेको थियो । पछि उनको पहलमा केन्द्रीय सम्झौतामा समावेश नगर्ने निर्णय फिर्ता भए पनि कप्तान नियुक्तिलाई भने क्यानले निरन्तरता दिएको थियो ।
दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी बहन गर्नुभएको थियो । उहाँको पहिलो कार्यकालमा नेपालले निकै ठूलो र ऐतिहासिक सफलता हासिल गरेको थियो । सन् २०१४ मा बङ्गलादेशमा आयोजित आइसिसी टि–ट्वान्टी विश्वककप प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।
त्यस्तै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । उहाँको पहिलो कार्यकाल निकै फलदायी भएता पनि दोस्रो कार्यकालले खासै सफलता हासिल गर्न सकेन । यसैसाता स्कटल्याण्डमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत घरेलु टोली स्कटल्याण्ड र नामिवियावीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा सफलता हासिल नगरेपछि उनी आलोचित बन्न पुगेका थिए ।
त्यतिबेला नेपालले खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित हात पारेको थियो । पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाका कारण उनी दबाबमा परेका थिए ।