यो सिजनको इटालियन सिरी ‘ए’ को मिलान ‘डर्वी’ मा एसी मिलानले इन्टर मिलानमाथि पूनरागमन जित निकालेको छ । मिलानले इन्टरमाथि ३–२ को रोमाञ्चक जित आत्मसात् गरेको हो ।
मिलानोमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा मिलानको जितमा राफायल लियोले दुई तथा ओलिभर जिरुडले एक गोल गरे । इन्टरका मार्सेलो ब्रोजोभिक र इडेन जेकोले गोल गरे ।
खेलको २१औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए । उनले जोआक्विन कोरेआको पासमा गोल गर्न सफल भएका थिए । तर, इन्टरको अग्रता लामो समय टिकेन । २८औं मिनेटमा राफायल लियोले सान्द्रो टोनालीको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
५४औं मिनेटमा ओलिभर जिरुडले लियोको पासमा गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए । ६०औं मिनेटमा राफायल लियोले ओलिभर जिरुडको पासमा गोल गरेपछि मिलान खेलमा ३–१ ले अघि बढ्यो ।
६७औं मिनेटमा माटियो डार्मिएनको पासमा इडेन जेकोले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा डर्वीमा मिलान विजयी हुन सफल भयो ।
यस जितसँगै मिलान ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ११ अंक नै रहेपनि नेपोली गोलअन्तरमा शीर्षस्थानमा छ । पराजित इन्टर ९ अंक जोडेर छैटौं स्थानमा छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्ट्सले फियोरेन्टिनासँग १–१ गोलको बराबरी खेलेको छ । युभेन्ट्सका मिलिकले गोल गर्दा फियोरेन्टिनाका क्रिस्टियन कोउमेले बराबरी गोल फर्काए ।
फियोरेन्टिनाका लुका जोभिकले ४४औं मिनेटमा पेनाल्टी चुकाएका थिए । यस नतिजापछि युभेन्ट्स ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । फियोरेन्टिना ६ अंक जोडेर १०औं स्थानमा रहेको छ ।