इटालियन सिरी ‘ए’ को मिलान डर्वी भिडन्तमा इन्टर मिलानले जित निकालेको छ । इन्टर मिलानले एसी मिलानलाई १–० ले पराजित गरेको हो ।
इन्टरको जितमा पहिलो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ३४औं मिनेटमा गोल गरेका थिए ।
मिलानोमा आइतबार राति भएको खेलमा इन्टरले खेलको सुरु देखि नै एसी मिलानलाई दवावमा राखेको थियो । ३४औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । उनले हकान चलहानोग्लुको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलको अग्रता लिएपछि पनि इन्टरले खेलमा पकड जमाएपनि थप गोल भने गर्न नसकदा मार्टिनेजको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै इन्टर २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इन्टर नेपोलीभन्दा १३ अंकले अघि छ । पराजित मिलान ३८ अंक जोडेर छैटौं स्थानमा छ ।
आइतबार राति नै शीर्षस्थानमा रहेको नेपोलीले स्पेजियालाई ३–० ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत पारेको छ । नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा केभिचाले एक गोल गरे ।
यस जितसँगै नेपोलीको २१ खेलबाट ५६ अंक पुगेको छ । पराजित स्पेजिया १८ अंक जोडेर १७औं स्थानमा छ ।