जर्मन मिडफिल्डर टोनी क्रुसले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । मिडफिल्डर टोनी क्रुसले क्लबसँग एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नयाँ सम्झौताले क्रुस सन् २०२४ को जुनसम्म म्याड्रिडमा रहनेछ । ३३ वर्षीय क्रुसले रियल म्याड्रिडका लागि ४१७ खेल खेलिसकेका छन् । उनले यो सिजन रियलबाट ५२ खेल खेल्दा २ गोल गर्न सफल भएका थिए ।
२०१४ को विश्व च्यािम्पयन टोनी क्रुस सन् २०१४ मै जर्मन क्लब बायर्न म्युनिखबाट रियलमा अनुबन्ध भएका थिए । उनले रियलबाट विभिन्न २० उपाधि जितिसकेका छन् ।
रियल म्याड्रिडमा ९ सिजन रियलमा बिताएका उनले चार च्याम्पियन्स लिग, पाँच क्लब विश्वकप, चार युरोपियन सुपर कप, तीन ला लिगा उपाधि, एक कोपा डेल रे र तीन स्पेनिश सुपर कप जितेका छन् ।
गत सिजन उनले रियललाई कोपा डेल रेको उपाधि जिताउन भुमिका निभाएका थिए । रियलले यसपटक ला लिगा र च्याम्पियन्स लिग जित्न सकेन ।
ला लिगमा रियल बार्सिलोनासँग पछि पर्दा च्याम्पियन्स लिगका सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । रियलले बोरुसिया डर्टमण्डबाट इंग्लिस युवा मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गरिसकेको छ ।