अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजको गोलमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा झिनो जित निकालेको छ ।
इन्टरले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को कठिन जित निकालेको हो । खेलको तेस्रो मिनेटमै मार्टिनेजले गरेको गोल नै इन्टरको जितमा पर्याप्त बन्यो ।
मिलानोमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीबाट गोल निस्कन सकेन । रेलिगेसन क्षेत्रमा रहेको हेलास भेरोनाविरुद्ध इन्टरले त्यसपछि गोलको प्रयास गरेपनि उनीहरुको बलियो रक्षापङ्ति तोड्न सकेन ।
जितसँगै चौथो स्थानमा रहेको इन्टरले तेस्रो स्थानको युभेन्ट्ससँग अंक बराबरी गरेको छ । इन्टरको १८ खेलबाट ३७ अंक पुगेको छ । समान खेलबाटै युभेन्ट्सको पनि ३७ अंक रहँदा गोल अन्तरमा इन्टर पछि छ । पराजित हेलास भेरोना ९ अंक जोडेर १९औं स्थानमा छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा दोस्रो स्थानमा रहेको एसी मिलान लिससँग २–२ गोलको बराबरीमा रोकिएको छ । मिलानले दुई गोलले पछि परेको स्थितिमा दुई गोल गर्दै अंक खोस्न सफल भएको हो ।
लिसका फेडरिकोले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानका राफायल लियो र डेभिड कालाब्रियाले बराबरी गोल फर्काए । यस बराबरीसँगै मिलान १८ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । लिस २० अंक जोडेर १२औं स्थानमा छ ।
यस्तै अर्काे खेलमा मोन्जाले क्रेमोनेसेलाई ३–२ ले पराजित गरेको छ । यस जितसँगै मोन्जा २१ अंक जोडेर ११औं स्थानमा तथा क्रेमोनेसे ७ अंक जोडेर पुछारमा छ ।