सेनेगलका कप्तान तथा महत्वपूर्ण फरवार्ड साडियो माने फिफा विश्वकप कतार २०२२ बाट बाहिरिने पक्का भएकाे छ । यससँगै सेनेगलले मानेविनै विश्वकप खेल्नुपर्ने भएपछि ठूलो झड्का लागेको छ ।
दुई साताअघि जर्मन बुन्ड्सलिगा दौरान वेर्डर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका कप्तान मानेलाई सेनेगल फुटबल फेडेरेसनले चोटका बावजुत टोलीमा समावेश गरेको थियो । । तर बिहीबार उनको खुट्टाको शल्यक्रिया भएपछि उनले विश्वकपका सबै खेल गुमाउने पक्का भएको हो ।
सेनेगलले मंगलबार ३० वर्षीय मानेले पहिलो खेल गुमाउने बताएको थियो । तर, बिहीबार एमआरआई स्क्यान पछिको रिपोर्टमा उनको शल्यक्रिया नै गर्नुपरेपछि उनी विश्वकपबाट बाहिरिएका हुन् । मानेको दायाँ खुट्टाको सफल शल्यक्रिया भएको छ । शल्यक्रियासँगै अब माने फिजियोमा व्यस्त रहनेछ ।
दुई पटकको अफ्रिकन फुटबलर अफ द इयर माने सेनेगलका आइकन हुन् । जसले सेनेगललाई अफ्रिका कप अफ नेसन्सको च्याम्पियनसँगै विश्वकपमा पु¥याएका थिए । दुवै खेलमा सेनेगलले इजिप्टलाई टाइब्रेकरमा पराजित गर्दा मानले विजयी पेनाल्टी गोल गरेका थिए ।
सेनेगलले सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्दैछ । समूह ‘ए’ मा रहेको सेनेगलले आयोजक कतारसँग २५ नोभेम्बरमा तथा इक्वेडरसँग २९ नोभेम्बरमा खेल्नेछ ।