इंग्ल्यान्डका राष्ट्रिय टोलीका मिडफिल्डर मेसन माउन्टले आफ्नो बाल्यकाल देखिको क्लब चेल्सी छाडेर म्यानचेस्टर युनाइटेड जाने निर्णय आफ्नो करिअरका लागि सही रहेको बताएका छन् ।
मिडफिल्डर माउन्टले युनाइटेडले गरेको पाँच वर्षको सम्झौता प्रस्ताव स्वीकार गरिसकेका छन् । युनाइटेडले उनलाई अनुबन्ध गर्न चेल्सी समक्ष ५५ मिलियन पाउण्डको प्रस्ताव राखेको थियो ।
चेल्सीमा ६ वर्षको उमेरदेखि आवद्ध रहेका माउन्टले लामो यात्रापछि टोली परिवर्तन गर्ने निर्णय लिएका हुन् । चेल्सीबाट १८ वर्ष खेल्ने क्रममा उनले थुप्रै सफलता हासिल गरेका छन् । विशेषगरी उनले सन् २०२१ मा च्याम्पियन्स लिग जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
चेल्सीको सिनियर टोलीबाट १ सय ९५ खेल खेल्ने क्रममा उनले ३३ गोल गरे । उनले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि सन् २०१९ मा डेब्यु गरेका थिए । त्यसयता उनी टोलीमा नियमित रहे ।
माउन्टले चेल्सी समर्थकहरु उनको निर्णयबाट असन्तुष्ट रहने थाहा भएपनि आफ्नो करिअरका लागि यो निर्णय सही रहेको अभिव्यक्ति सामाजिक संजालबाट दिए ।
‘मैले चेल्सी छाड्ने निर्णय लिएको छु । मलाई थाहा छ यो निर्णयबाट धेरै समर्थक खुसी छैनन्, तर मेरो लागि करिअरमा यो सही निर्णय हो,’ उनले बताए ।