अखिल नेपाल फुटबल संघले कुमार थापालाई नेपाली महिला फुटबल टोली प्रशिक्षकमा नियुक्त गरेको छ ।
शुक्रबार एन्फाले कुमारलाई नेपालमा हुने महिला साफ च्यमम्पियनसिपका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको हो ।
त्यस्तै नेपाली महिला टोली व्यवस्थापकको जिम्मेवारी एन्फाको महिला संघकी पूर्वअध्यक्ष विन्द्रा देवनलाई दिएको छ ।
एन्फाले महिला साफ च्याम्पियनसिपका लागि १८ सदस्यीय मुल आयोजक कमिटि पनि गठन गरेको छ ।
त्यसको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का रहेका छन् ।
त्यस्तै रविन्द्र चन्दलाई भेन्यु म्यानेजर, स्थानीय संयोजकमा विजय घले तथा सुरक्षा प्रमुखमा दिनेश ब्यन्जनकारलाई नियुक्त गरेको छ ।
त्यस्तै सन्जिब शिल्पकारलाई मार्केटिङ, प्रत्यक्ष प्रशारण तथा डिजिटल राइट्सको अधिकार समितिको संयोजकका रुपमा नियुक्त गरेको छ ।
आसन्न साफ महिला च्याम्पियनसिपका लागि दक्षिण एशियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघलाई २ लाख ५० हजार अमेरिकी डलर दिने भएको छ ।
काठमाण्डौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको आयोजनाका लागि साफले आयोजना खर्चका रुपमा २ लाख ५० हजार अमेरिकी डलर अर्थात झण्डै तीन करोड रुपैयाँ दिने भएको हो ।
प्रतियोगिता सेप्टेम्बर ६ देखि १९ मा नेपालमा हुने छ । यसअघि प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर १० सम्म हुने भनिएको थियो ।