मड्रिड डर्वीमा जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । रियलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ ले हराएको हो ।
वान्डा मेट्रोपोलिटानोमा रियलको जितमा रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका मारियो हर्माेसोले एक गोल फर्काए । आइतबार राति भएको खेलको १८औं मिनेटमा रोड्रिगोको गोलबाट रियलले १–० को अग्रता लिन सफल भयो । रोड्रिगोसँगको वान टु वान पासमा ओरेलिएन चुआमेनीको पासलाई फिलिपेले क्लियर गर्ने प्रयास गरेपनि नभेटेको बललाई रोड्रिगोले वान टचमै जाली चुमाएका थिए ।
३६औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । लुका मोड्रिचको चलाखीपूर्ण पासलाई नियन्त्रणमा लिदै दुई डिफेन्डरलाई बिट गर्दै भिनिसियसले गरेको प्रहार पोलमा लागेर फर्कदा नजिकै रहेका भाल्भेर्डेले सहजै जाली चुमाए ।
दुई गोलले पछि परेको एट्लेटिकोले पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएर ८३औं मिनेटमा परिवर्तित खेलाडी मारियो हर्माेसोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
ग्रिजमनको कर्नरलाई गोलरक्षक थिवाउट कोर्टुवाले क्लियर गर्ने प्रयास गरेपनि नभेटेको बल हर्माेसोको काँधमा लाग्दै खाली पोस्ट जाली चुमेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुँदै शतप्रतिशत छैटौं जित दर्ता गर्न सफल भयो ।
खेलको अन्त्यतिर एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । ड्यानियल सवालोसमाथि अनावश्यक फउल गरेपछि गोलकर्ता मारियो हर्माेसो दोहोरो पँहेलो कार्ड खादै इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मैदानबाट बाहिरिए ।
हर्माेसो परिवर्ति खेलाडीको रुपमा ७२औं मिनेटमा यान्निक कारास्कोको स्थानमा मैदान छिरेका थए । मैदान छिरेको ११ मिनेट भित्र गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने संकेत दिएपनि अन्तिम समयमा उनी नायकबाट खलनायक सावित बने ।
यस सिजनमा अपराजित रहेको रियलको यो लगातार छैटौं जित हो । शत प्रतिशत जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले क्याटलान क्लब बार्सिलोनालाई २ अंकले पछि पारेको छ । पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ ।