टर्कीका गोलरक्षक अहमेट एयुप तुर्कासलानको भूकम्पमा परी मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।
सोमबार भएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसमा गोलरक्षक अहमेट एयुप तुर्कासलान पनि परेको क्लबले जनाएको छ ।
‘हाम्रा गोलरक्षक अहमेट एयुप तुर्कासलानको भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धान्जली । सुन्दर तपाईलाई हामी बिर्सने छैनौं ।’ क्लबले आफ्नो आधिकारिक ट्वीट ह्यान्डलमा ट्वीट गरेको छ ।
२८ वर्षीय तुर्कासलानले सन् २०२१ मा आवद्ध भएपछि टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए । टर्कीकै दोस्रो डिभिजनको क्लब केकुर रिजेस्पोरबाट खेल्ने क्रिस्टल प्यालेस र एभर्टनका पुर्व विंगर यानिक बोलासीले पनि उनको निधनमा यनी मालत्यास्पोरका उनका सबै परिवार र टोलीका साथीहरूप्रति मेरो समवेदना व्यक्त गरेको छ ।
‘सुन्दा विनाशकारी र हामी सबैले खाँचोमा परेका सबैलाई मद्दत गर्न जारी राख्न सकौं ।’ बोलासीले ट्वीट गरेका छन् । अहमेट एयुप तुर्कासलानले टर्कीकै क्लबबाट व्यवसायिक खेल खेलिरहेका थिए । उनले राष्ट्रिय टोलीमा भने स्थान बनाउन सकेका छैनन् ।