अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको १२ वर्षको इतिहासमा पहिलो जित । पहिलोपल्ट एउटै खेलमा एक गोलभन्दा बढी गरेको । विपक्षीलाई गोल गर्न नदिएर ‘क्लिन–सिट’ राखेको पनि पहिलो नै । यस्तै यस्तै कीर्तिमानको ओइरो लाउँदै भुटानी महिला राष्ट्रिय फुटबल टिम दशरथ रंगशालामा शुक्रबार श्रीलंकामाथि ५–० को ऐतिहासिक जित रच्दै पहिलोपल्ट साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘अन्तर्राष्ट्रिय सहभागितामा पहिलो जित हात पारेका छौं । इतिहास कोरेका छौं । हाम्रा लागि यो धेरै ठूलो उपलब्धि हो,’ प्लेयर अफ द म्याचको अवार्ड हात पारेकी भुटानी मिडफिल्डर सुनीता राईले भनिन् । साफ महिला च्याम्पियनसिप सन् २०१० मा कक्सबजार (बंगलादेश) बाट सुरु भएको थियो । त्यही पहिलो संस्करणबाट भुटानी महिला टिमले अन्तर्राष्ट्रिय फुटबल यात्रा थालेको थियो । अघिल्ला पाँचै संस्करणमा सहभागी भएको भुटानले त्यसमा १४ खेलमध्ये १३ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । पहिलो संस्करणमा श्रीलंकाविरुद्ध १–१ को नतिजा नै उसको सबभन्दा ठूलो उपलब्धि थियो । त्यसैले साफमा १६ औं खेलमा आएर भुटानले पहिलो जित दर्ता गरेको हो ।
सुनीता, कप्तान वाङ्मो घले, डेमा नामग्याल सुरुआती चरणमै गोलको खाता खोल्न चुकेका थिए । शुकमाया घलेले २६ औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा बल पोस्टमा लागेर फर्केको थियो । तर, ४२ औं मिनेटमा डेमाले ‘१८ यार्ड लाइन’ बाट बल प्रहार गर्दै उत्कृष्ट गोल गरेपछि भुटानले पहिलो हाफमा १–० को अग्रता लियो । उनकै पासमा डेकी लाजोमले ५० औं मिनेटमा अग्रता दोब्बर बनाइन् । उनले पेनाल्टीमार्फत् ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । डिलक्सम थेवासायमले पेनाल्टी क्षेत्रमा डेमालाई लडाएपछि भुटानले उक्त पेनाल्टी पाएको थियो । छिरिङ लादेनले ८५ औं मिनेट र वाङमो घलेले ८९ औं मिनेट थप गोल गरेपछि भुटानले ५–० को जित नकालेको हो ।
यो साफको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । तर, दोस्रो खेलमा हात पारको फराकिलो जितसँगै ३ अंक जोडेको भुटान तीन देश रहेको समूह ‘बी’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा प्रवेश गरेको छ । यो समूहको अन्तिम खेलमा सोमबार नेपालले श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्ने छ । उक्त खेलको नतिजा जस्तोसुकै भए पनि भुटानले सेमिफाइनल खेल्ने पक्का भएको हो र नेपालविरुद्ध भुटानको खेलले यो समूहबाट सेमिफाइन्ल पुग्ने अर्को टिमको टुंगो लगाउने छ ।
‘हेड’टु–हेड’ को नियमानुसार नेपाल ३ अंक भए पनि समूहको शीर्षस्थानमा छ । नेपाल अन्तिम खेलमा श्रीलंकासँग ५ गोल वा त्योभन्दा ठूलो अन्तरले पराजित भएमा समूह चरणबाटै बाहिरिने छ र यो अवस्थामा भुटान र श्रीलंका सेमिफाइनल पुग्नेछ । नेपालको जित, बराबरी वा श्रीलंकाको चार गोल वा त्योभन्दा कम अन्तरको जितले पनि भुटान बाहिरिने छैन । त्यसैले भुटानले गोलका कीर्तिमानसहित रचेको ऐतिहासिक जितसँगै साफ २०२२ को सेमिफाइनल यात्रा तय गरेको हो ।
अंक तालिका
समूह ‘बी’
नेपाल १ १ – – ४–० ३
भुटान २ १ – १ ५–४ ३
श्रीलंका १ – – १ ०–५ –
शनिबार हुने खेल
पाकिस्तानविरुद्ध बंगलादेश
१३: ०० बजे
माल्दिभ्सविरुद्ध भारत
१७: ५० बजे
दशरथ रंगशाला