म्यानचेस्टर युनाइटेडका फ्रान्सेली डिफेन्डर राफाएल भारानले फिफा विश्वकप २०२२ कतार गुमाउने सम्भावना बढेको छ । विश्वकप सुरु हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा भारानले चोट बोकेका हुन् ।
चेल्सीविरुद्ध शनिबार भएको खेलका दौरान भारानको खुट्टामा चोट लागेको हो । पिएर एमेरिक औबामेयाङलाई ट्याकल गर्ने प्रयासमा भारानले चोट बोक्न पुगेका थिए । उनलाई त्यसपछि तुरुन्तै मैदानबाहिर लागिएको थियो । भारानले स्ट्रेचरमा मैदान छोड्न मानेका थिएनन् । तर स्वास्थ्यकर्मीको सहायतामा मैदान छाड्ने क्रममा उनी निकै भावुक देखिएका थिए ।
प्रशिक्षक एरिक टेन हागले भारानको चोटको अवस्थाबारे अहिले केहि भन्न नसकिने बताए । ‘हामीले २४ घण्टा हेरेपछि केहि भन्न सक्छौं । उनी भावुक भएको देखेर पनि हामी अनुमान लगाउन सक्छौं, तर उनले पनि अब परिक्षणको नतिजा कुर्नुपर्छ,’ टेन हागले भने ।
‘भारान अनुभवी छन् र अब स्वास्थ्यकर्मी टोलीले यसको विस्तृत अध्ययन गर्नेछन् । अब उनलाई सहि उपचार गरेर भविष्यबारे हेर्नुपर्छ,’ उनले थपे । उनको प्रारम्भिक परिक्षणले चोट निकै खराब नरहेको बुझिएको छ । तर उनलाई ४ साता ठिक हुन लाग्ने भएको छ । उनले विश्वकपअघि युनाइटेडबाट नखेल्ने पक्का भएको छ ।
सन् २०२१ को समर ट्रान्सफर विन्डोमा युनाइटेड आएका भारान पछिल्लो समय चोटका कारण नियमित खेल्न सकेका थिएनन् । सिजनको सुरुवातमा पनि सामान्य चोट बोकेका उनी पछिल्लो समय उच्च लयमा थिए । उनी र लिसान्द्रो मार्टिनेजको जोडीले युनाइटेडको डिफेन्स सम्हाल्दै आएको थियो ।
सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा टोलीको महत्त्वपूर्ण सदस्य रहेका भारान यसपटक पनि सुरुवाती रोजाइमा खेल्ने अपेक्षा रहेको थियो । अब उनको चोटको अवस्थाले ने विश्वकप भविष्य निर्धारण हुनेछ ।
फिफा विश्वकपमा फ्रान्स समूह डी मा छ । फ्रान्सको समूहमा डेनमार्क, अष्ट्रेलिया र ट्युनिसिया रहेका छन् । नोभेम्बर २० मा सुरु हुने विश्वकपमा फ्रान्सले पहिलो खेल २२ नोभेम्बरमा अष्ट्रेलियासँग खेल्नेछ ।