भारतीय लेजेन्ड्सले रोड सेफ्टी विश्व सिरिजको फाइनलमा श्रीलंकालाई ३३ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.५ ओभरमा १ सय ६२ रनमा अल आउट भयो ।
श्रीलंकाका ईशान जयरत्नेले २२ बलमा ४ चौका र ४ छक्कासहित ५१ रनको इनिङ खेलेपनि जिताउन सकेनन् । ओपनर दीलशान मुनविरा ८, सनाथ जयसूर्या ५, कप्तान तिलकरत्ने दीलशान ११, उपुल थरंगा १० र असेला गुणरत्ने १९ रनमा आउट भए
कप्तान तिलकरत्ने दीलशान प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए ।
उनले १ सय ९२ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । भारतीय विनय कुमारले ३.५ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । अभिमन्यु मिथुनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि रैपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतीय लेजेन्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । भारतका ओपनर विकेटकिपर नमन ओझाले ७१ बलमा १५ चौका र २ छक्कासहित सर्वाधिक १ सय ८ रनको अविजित शतकीय इनिङ खेले ।
नमनले १९ औं ओभरमा सनाथ जयसूर्यालाई छक्का हान्दै ६८ बलमा शतक पूरा गरेका थिए । तीव्र गतिका बलर नुवान कुलसेकराले पहिलो ओभरको अन्तिम बलमा कप्तान सचिन तेन्दुलकरलाई गोल्डेन डक बोल्ड गरे । तेस्रो ओभरमा नुवानले सुरेश रैनालाई ४ रनमा आउट गरे ।
कमजोर सुरुवातको बाबजुद तेस्रो विकेटका लागि नमन र विनय कुमारले ९० रनको साझेदारी गर्दै भारतीय लेजेन्ड्सलाई खेलमा फर्काएका थिए । विनय कुमार २१ बलमा ४ चौका र १ छक्कासहित ३६ रनमा आउट भए ।
युवराजसिंह १३ बलमा २ चौका र १ छक्कासहित १९ रनमा क्याच भए । इरफान पठानले ११ रन बनाए । श्रीलंका लेजेन्ड्सका नुवान कुलसेकराले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । इसुरु उडानाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।