स्पिनर कुलदीप यादव र तीव्र गतिका बलर मोहम्मद शिराजको उत्कृष्ट प्रदर्शनमा भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २ सय ७१ रनको विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा बंगलादेश पहिलो इनिङमा ४४ ओभरमा १३३-८ को दयनीय अवस्थामा छ ।
बंगलादेशका मेहिदी हसन मिराज १६ र इबादोत हुसैन १३ रनमा क्रिजमा छन् । सर्वाधिक अनुभवी खेलाडी मुश्फिकुर रहिम ५८ बलमा ३ चौकासहित सर्वाधिक २८ रनमा आउट भए । तीव्र गतिका बलर मोहम्मद शिराजले ओपनर नाज्मुल हसन शान्टोलाई रोयल डक पेभेलिएन फर्काएका थिए ।
यासिर अलिलाई उमेश यादवले ४ रनमा बोल्ड गरे । शिराजले आक्रामक ब्याटिङ गरेका लिटन दासलाई २४ रनमा बोल्ड गरे । दासले ३० बलमा ५ चौका प्रहार गरे । ओपनर जकिर हसन शिराजकै बलमा २० रनमा आउट भए ।
त्यसपछि कुलदीपले बंगलादेशको मध्यक्रम धरासीय बनाउनेक्रममा चार विकेट लिएका थिए । कप्तान सकिब अल हसन ३ र विकेटकिपर नुरुल हसन १६ रनमा आउट भए । भारतका कुलदीप यादवले १० ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिएका छन् । मोहम्मद शिराजले ९ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए ।
जहूर अहमेद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ४ सय ४ रनमा अल आउट भयो । भारतका युवा ब्याटर श्रेयस ऐर १ सय ९२ बलमा १० चौकासहित ८६ रनमा बोल्ड भए । दोस्रो दिन मात्रै चार रन जोड्दा इबादत हुसैनको बलमा बोल्ड भएपछि ऐर करिअरको दोस्रो टेस्ट शतक बनाउन १४ रनले चुकेका थिए ।
चेतेश्वर पुजारा दिनको अन्तिम समयतिर २ सय ३ बलमा ११ चौका प्रहार गर्दै ९० रनमा बोल्ड भए । पहिलो दिनको खेल सकिन ६ ओभर बाँकी हुँदा स्पिनर ताइजुल इस्लामको बलमा पुजारा बोल्ड हुन पुगेका थिए ।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न महत्वपूर्ण मानिएको यस सिरिजको पहिलो खेलमा भारतको सुरुवात भने अपेक्षा अनुसार हुन सकेन । एक समय ११२–४ को अवस्थामा पुगेपनि पाँचौं विकेटका लागि ऐर र पुजाराले १ सय ४९ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो ।
ओपनर लोकेश राहुल र शुभमन गिलले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । यासिर अलिबाट ताइजुलले ओपनर गिललाई २० रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । कप्तान लोकेश राहुल ५४ बलमा ३ चौकासहित २२ रनमा आउट भए ।
प्रमुख ब्याटर विराट कोहली ताइजुलको बलमा एक रनमै एलबीडब्लू आउट भएका थिए । ऋषभ पन्त ४५ बलमा ६ चौका र २ छक्कासहित ४६ रनमा बोल्ड भए । मेहदी हसन मिराजले अक्षर पटेललाई १४ रनमा एलबीडब्लू आउट गरे ।
तल्लोक्रमका रविचन्द्रन आश्विनले १ सय १३ बलमा २ चौका र २ छक्कासहित ५८ रनमा आउट भए । कुलदीप यादवले १ सय १४ बलमा ५ चौकासहित ४० रन जोडे । बंगलादेशका ताइजुल इस्लाम र मेहिदी हसन मिराजले समान चार विकेट लिए ।