ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भाले इंग्लिस क्लब चेल्सीसँगको सम्झौता नविकरण गरेका छन् । सिल्भाले चेल्सीसँग थप एक वर्षको सम्झौता नविकरण गरेको हो ।
यससँगै ३८ वर्षीय सिल्भा २०२४ को समरको अन्त्यसम्म स्टामफोर्ड ब्रिजमा रहनेछ । सिल्भा २०२० मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट चेल्सीमा अनुबन्ध भएका थिए । सोही सिजन चेल्सीले युइएफए च्याम्पियन्स लिगको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य बनेका थिए ।
चेल्सीमा आबद्ध भएसँगै उनले चेल्सीका लागि सबै प्रतियोगितामा १०६ खेल खेलेका छन् । जसमा दुई एफए कप फाइनल र एक इएफएल कप फाइनल पनि समावेश छ ।
‘चेल्सीमा अनुबन्धित हुनु र बस्नु मेरो लागि विशेष क्षण हो ।’ सिल्भाले भने, ‘जब मैले यहाँ मेरो पहिलो सम्झौतामा हस्ताक्षर गरें, यो केवल एक वर्षको लागि थियो । अब यो चौथो हो ।’
११३ अन्तर्राष्ट्रिय खेल खेलेका सिल्भाको कप्तानीमा ब्राजिल गत नोभेम्वर र डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो । ब्राजिल क्रोएसियासँग पेनाल्टीमा पराजित हुँदै घर फर्किएको थियो ।