एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध नजिक पुगेको छ ।
युनाईटेडले स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर क्यासमिरो अनुबन्धका लागि ७० मिलियनको प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा तीनै पक्ष म्यानचेस्टर, क्यासमिरो र रियलबीच सहमति भइसकेको बताइएको छ ।
शुक्रबारसम्ममा रियलले क्यासमिरोलाई क्लबबाट बाहिरिन अनुमति दिन सक्नेछ । क्लबले अनुमति दिएपछि मेडिकललगायतको कागजी प्रक्रिया अघि बढ्नेछ । युनाइटेडको प्रस्ताव स्वीकार गरेमा ३० वर्षीय क्यासमिरो क्लबमा सर्वाधिक कमाउने खेलाडी बन्नेछन् ।
युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले टिमको मिडफिल्ड बलियो बनाउन उनलाई अनुबन्धको योजना बनाएका हुन् ।
रियलका प्रशिक्षक कार्लाे एन्सेलोटीले आफ्नो एक विश्वासी खेलाडी गुमाउन चाहेका छैनन् । उनले क्यासमिरोलाई अनुमति दिएको छैन । प्रशिक्षक एन्सेलोटी क्यासमिरोलाई क्लबमै राख्न सक्नेमा विश्वस्त छन् ।
क्यासमिरो सन् २०१३ बाट रियलमा रहेका छन् । उनी रियलको मिडफिल्डको प्रमुख हतियार हुन् । रियलमा क्यासमिरो, टोनी क्रुस र लुका मोड्रिचको बर्मुडा मिडफिल्ड निक्कै जम्दा रियलले थुप्रै सफलता आत पारेको छ । उनले ३ ला लिगा र ५ च्याम्पियन्स लिग जितेका छन् । रियलसँग उनको सम्झौता २०२५ सम्मको रहेको छ ।