टोटेनहम हट्सपरका फरवार्ड रिचार्लीसन अन्द्रादे नायक बन्दा फिफा विश्वकप कतार २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ । लुसेल रंगशालमा विहीबार ब्राजिलले सर्बियालाई २-० ले पराजित गर्दा दुवै गोल रिचार्लीसनले गरे ।
पहिलो हाफमा अवसर सदुपयोग गर्न नसकेको ब्राजिलले दोस्रो हाफमा थप आक्रामक प्रस्तुति गरेको थियो । मुख्य फरवार्ड रिचार्लीसनले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरे । उनले गरेको दोस्रो गोल भने प्रतियोगितामा हालसम्मकै उत्कृष्ट मध्य रहेको थियो ।
खेलको २८ औं मिनेटमा ब्राजिलले अग्रता लिने अवसर पाएको थियो । थियागो सिल्भाको पासमा भिनीसियसले पेनाल्टी क्षेत्रभित्र प्रहार गर्न केहि ढिलो भए । गोलरक्षक भान्जा मिलिन्कोभिच साभिचले अगाडी बढेर उनलाई राम्रो प्रहार गर्न दिएनन् ।
६० औं मिनेटमा एलेक्स सान्ड्रोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कंदा ब्राजिल अग्रता लिनबाट बन्चित भयो । ६३ औं मिनेटमा ब्राजिलले रिचार्लीसनको गोलमा अग्रता लियो । भिनिसियस जुनिअरको प्रहार गोलरक्षक भान्जा मिलिन्कोभिच साभिचले बचाएपनि रिबाउन्डमा रिचार्लीसनले सहजै गोल गरे ।
६७ औं मिनेटमा भिनीसियस पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा सट प्रहार गर्दा चिप्लिन पुग्दा उनको प्रहार निकै बाहिर गएको थियो । औं मिनेटमा रिचार्लीसनले सानदार गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । भिनीसियस जुनिअरले दिएको आउटसाइड फुट पासलाई रिचार्लीसनले पेनाल्टी क्षेत्रभित्र बायाँ खुट्टाले उचालेर दायाँ खुट्टाले एक्रोब्याटिक प्रहार गर्दै दर्शनीय गोल गरे ।
८१ औं मिनेटमा क्यसेमिरोको प्रहार क्रसबारमा लागेर फर्कियो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट पहिलो टचमा गरेको प्रहारमा गोलरक्षक बिट भएपनि क्रसबार बाधक बन्यो । ८४ औं मिनेटमा फ्रेडको प्रहारलाई गोलरक्षक भान्जाले विफल पारे ।
यस जितसँगै ब्राजिल समूह जी को शीर्षस्थानमा पुगेको छ । ब्राजिल र स्विटजरल्यान्ड दुवैको ३ अंक रहेको छ । विहीबारकै पहिलो खेलमा स्विटजरल्यान्डले क्यामरुनलाई १-० ले पराजित गरेको थियो ।