फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली विंगर भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।
रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली स्पान्योलमाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा भिनिले एक गोल गरे । स्पान्योलका जोसेलुले एक गोल फर्काए ।
आरसीडिइ स्टेडियममा आइतबार राति भएको खेलमा रियलले खेलको शुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राख्दै १२औं मिनेटमा गोल गर्न सफल भएको थियो । उनले औरेलिएन चुआमेनीको पासमा गोल गर्न सफल भएका थिए । ४३औं मिनेटमा जोसेलुले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफमा पनि रियलले स्पान्योललाई लगातार दवावमा राखेपनि गोलको लागि अन्तिम समय नै कुर्नुपरेको थियो ।बराबरीतर्फ धकेलिएको खेलको ८८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । उनले रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए ।
इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा घरेलु टोली स्पान्योल १० खेलाडीमा समेटिन पुग्यो । ड्यानियल सेवालोसलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै गोलरक्षक बेन्जामिन लिकोम्टेलाई सिधै रातो कार्ड दिँदै मैदान बाहिर पठाएको थियो । त्यसमै प्राप्त फ्रिकिकमा बेन्जेमाले सिधै गोल गर्दै रियललाई लगातार तेस्रो जित दिलाए ।
लगातार तेस्रो जितसँगै रियल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ९ अंक नै रहेपनि रियल बेटिस गोलअन्तरमा दोस्रो स्थानमा छ । पराजित स्पान्योल १ अंक जोडेर १६औं स्थानमा छ ।