भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेपछि रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले अन्तिम समयमा गोल गरेपछि बार्सिलोनाले महत्वपुर्ण जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।
भ्यालेन्सियामा शनिबार राति भएको खेलमा पाहुना टोलीले बल पोसेसन राख्दै घरेलु टोली भ्यालेन्सियालाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
२३औं मिनेटमा अन्सु फातीले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ४४औं मिनेटमा जोर्डी अल्वाको क्रसमा लेवान्डोस्कीको हेडर पोलमा लागेर फर्कदा बार्सिलोना अग्रता लिनबाट चुक्यो ।
५०औं मिनेटमा सामुइल डियास लिनोले गोल गरेपनि भिएआरमा हातले बल छोएको देखिदा गोलले मान्यता नपाउँदा भ्यालेन्सिया अग्रता लिनबाट चुक्यो ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई जितसहित महत्वपूर्ण ३ अंक दिलाए । उनले राफिन्हाको क्रसलाई वान टचमा सुन्दर फिनिस गरेका थिए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको १२ खेलबाट ३१ अंक पुगेको छ । समान ३१ अंक नै रहेपनि एक खेल कम खेलेको रियल गोल अन्तरमा पछि परेको हो । पराजित भ्यालेन्सिया १२ खेलबाट १५ अंक जोडेर १०औं स्थानमा रहेको छ ।
रियलले आज साँझ घरेलु मैदानमा जिरोनासँग खेल्दैछ । यस खेलमा सफलता हात पारे रियल पुनः स्पष्ट ३ अंकको अग्रतासहित शीर्षस्थानमा उक्लनेछ । रियल यो सिजन ला लिगामा अपराजित छ । रियलले ११ खेलमा १० जित र १ बराबरीको नतिजा निकालेको छ ।