च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्डको प्ले अफ (अन्तिम ३२) बाटै बाहिरिएको छ ।
बार्सिलोना इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग समग्रमा ४–३ ले पराजित हुँदै युरोपाबाट पनि बाहिरिएको हो । बिहीबार राति शुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुन पुग्दा युरोपाबाट पनि बाहिरिन पुगेको हो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।
ओल्ड ट्राफोर्डमा घरेलु टोलीको जितमा फ्रेड र एन्टोनीले गोल गर्दा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको गोल सान्त्वना बन्यो । खेलको १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।
फ्रान्क केस्सीको क्रसलाई नियन्त्रणमा लिने क्रममा ब्रुनो फर्नान्डेसले बाल्डेमाथि फउल र ह्यानड गर्न पुगेपछि रेफ्रीले सिधै बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा लेवोन्डोस्की चुकेनन् ।
तर, बार्सिलोनाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ४७औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए ।