एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बराबरीबाट नयाँ सिजनको स्पेनिस ला लिगाको सुरुवात गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै सिजनको सुरुवात गरेको हो ।
क्याम्प नोउमा शनिबार राति भएको खेलमा बल पोसेसन राख्दै पाहुना टोलीमाथि लगातार दवाव बढाएपनि बार्सिलोनाले रायो भालेकानोको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बार्सिलोनाको हरेक प्रयासमा गोलरक्षक स्टोल डिमिट्रिभेस्की बाधक बने ।
खेलको अन्त्यतिर बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो । सर्जियो बुस्क्वेट् इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो ।
बार्सिलोनाले रायो भालेकानोविरुद्ध यसै समरमा क्लबमा आबद्ध गरेका रोबर्ट लेवान्डोस्की, राफिन्हा र आन्द्रेस क्रिस्टेन्सेनलाई पहिलो रोजाईमा तथा फ्रान्क केसीलाई दोस्रो हाफमा अवसर प्रदान गरेको थियो ।
यो बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन् । ला लिगाकै अर्काे खेलमा भिल्लारियललाई रियल भालाडोलिडमाथि ३–० को सहज जित निकाल्दा सेल्टा डि भिगो र स्पान्योलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।