क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि बार्सिलोना बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा पनि बार्सिलोना बायर्नसँग ३-० ले पराजित भयो ।
बुधबार भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको थियो । उक्त नतिजासँगै बार्सिलोना समूहको तेस्रो स्थानमा रहने पक्का भएको थियो । इन्टरका लागि एडिन जेकोले दुइ तथा रोमेलु लुकाकु र हेनरिक मिखीतार्यानले १-१ गोल गरे । इन्टर ५ खेलमा १० अंकसाथ शीर्ष २ मा रहने पक्का भएको थियो ।
तर बुधबार नै दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई ३-० ले पराजित गरेपछि जर्मन टोली समूह विजेता बनेको हो । बायर्नले लगातार पाँचौ खेलमा जित हासिल गर्ने क्रममा राम्रो प्रदर्शन गर्यो । जर्मन तलिका लागि साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले गोल गरे ।
बायर्नले ५ खेलमा १५ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का गर्यो । इन्टर ५ खेलम १० अंकसाथ दोस्रो स्थानमा रहने पक्का भएको छ । बार्सिलोनाले ५ खेलमा ४ अंक जोड्दै युरोपा लिगमा घटुवा भएको छ । पुछारको भिक्टोरिया प्लेजन अंकविहिन छ ।