पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की चम्कँदा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेलाई पराजित गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई तथा मेम्फिस डिपाएले एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा बार्सिलोनाले एक गोल निकाल्यो ।
क्याम्प नोउमा शनिबार राति भएको खेलको १४औं मिनेटमा पाहुना टोली इल्चे १० खेलाडीमा समेटिन पुग्यो । गोल गर्ने अवस्थानजिकै रहेका लेवान्डोस्कीलाई फउल गरेपछि रेफ्रीले गोन्जलो भेर्डुलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
त्यसपछि बार्सिलोनाले दुई गोल गर्दै सहज जिततर्फ अग्रसर बन्यो । ३४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए । ४१औं मिनेटमा एलेक्स बाल्डेकै पासमा डिपाएले गोल गर्दै बार्सिलोनाको अअग्रता दोब्बर पारे ।
४४औं मिनेटमा पेड्रीले गोल गरेपनि भिएआरबाट उनको गोलले मान्यता पाएन । पहिलो हाफको अन्त्यतिर इल्चेका प्रशिक्षक फ्रान्सिस्को रोड्रिग्वेजले पनि रातो कार्ड खादै टच लाइनबाट बाहिरिएपछि टोली झनै समस्यामा प¥यो ।
४८औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।
यस जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै कम्तीमा एक दिनको लागि शीर्ष स्थानमा उक्लन सफल भएको छ । अपराजित रहेको बार्सिलोनाको ६ खेलबाट १६ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५ खेलबाट १५ अंक छ । पराजित इल्चे १ अंक जोडेर पुछारमा छ ।
रियलले आइतबार राति शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडसँग उसकै मैदानमा खेल्दैछ । यस खेलमा सफलता हात पारे रियल पुनः शीर्षस्थानमा फर्कने छ ।