जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० ले पराजित गरेको हो । बायर्नको जितमा दोस्रो हाफमा लुकास हर्नान्डेज र लिरोए सानले गरेको गोल नै निर्णायक बन्यो ।
एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको ५०औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । उनले योसुवा किम्मिखको पासलाई सदुपयोग गरेका थिए ।
त्यसको चार मिनेट पछि जमल मुसिएलाको पासमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । दोस्रो हाफको शुरुमै दुई गोलले पछि परेको बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव सिर्जना गरेपनि गोल निस्कन नसक्दा पराजित हुन पुग्यो ।
यस जितसँगै बायर्नले बार्सिलोनालाई लगातार पाँचौ भेटमा पनि हराउन सफल भयो । बायर्न सन् २०१५ को च्याम्पियन्स लिगमा ३–० ले पराजित भएयता बार्सिलोनासँग अपराजित छ । बार्सिलोनाले बायर्नकै पुर्व फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई मैदानमा उतारेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
यस जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बायर्न ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा इटालियन इन्टर मिलानले पहिलो सजत दर्ता गर्ने क्रममा चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले पराजित गरेको छ । इन्टरको जितमा इडेन जेको र डेन्जेल डमफ्रेजले गोल गरे ।
६१औं मिनेटमा भिक्टोरिया १० खेलाडीमा समेटिएको थियो । पाभेल बुचा भिएआरको सहायतामा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । त्यसअघि २०औं मिनेटमा जेकोको गोलबाट इन्टरले अग्रता लिएको थियो । ७०औं मिनेटमा जेकोकै पासमा डेन्जेलले गोल गर्दै इन्टरलाई जित दिलाए ।
यस जितसँगै इन्टर दुई खेलबाट एक जितसहित ३ अंक जोडेर तेस्रो स्थानमा छ । समान ३ अंक नै रहेपनि बार्सिलोना दोस्रो स्थानमा छ । पराजित भिक्टोरिया अंकविहीन हुँदै पुछारमा छ ।