सुरुवाती अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलाेना स्पेनिस ला लिगाकाे क्याटलान डर्वीमा इस्पान्योलसँग बराबरीमा राेकिएकाे छ ।
बार्सिलाेना घरेलु मैदानमा इस्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका मार्कास अलन्सोले गोल गर्दा इस्पान्योलका जोसेलुले बराबरी गोल फर्काए ।
क्याम्प नोउमा शनिबार राति भएको खेलको सातौं मिनेटमा अलन्सोको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले आन्द्रेस क्रिस्टेन्सेनको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
तर, त्यो अग्रतालाई बार्सिलोनाले दोस्रो हाफमा जोगाउन सकेन । ७३औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अलन्सोले पेनाल्टी बक्समा जोसेलुलाई फउल गरेपछि रेफ्रीले इस्पान्योललाई पेनाल्टी प्रदान गर्दा उनी चुकेनन् ।
त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । ७८औं मिनेटमा जोर्डी अल्बा दोहोरो पहेलो कार्ड खाँद मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । त्यसको दुई मिनेटपछि नै भिनिसियस डि सोउजा कोस्टा पनि दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इस्पान्योल पनि १० खेलाडीमा समेटिन पुग्यो ।
रेफ्री एन्टोनियो माटेउले सुरुवातमा लियान्द्रो कावरेरालाई रातो कार्ड देखाएपनि भिएआरको सहायतामा उनको कार्ड परिवर्तन गर्दै कोस्टालाई रातो कार्ड देखाए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेपनि इस्पान्योलको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यस बराबरीसँगै बार्सिलोना १५ खेलबाट ३८ अंक जोडेर पुनः शीर्षस्थानमा उक्लिएको छ । समान ३८ अंक नै रहेपनि रियल म्याड्रिड गोल अन्तरमा पछि छ । इस्पान्योल १३ अंक जोडेर १६औं स्थानमा छ ।