वल्फ्सवर्गलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको बायर्नले घरेलु टोली वल्फ्सवर्गलाई ४–२ ले पराजित गर्दै युनियन बर्लिनलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।
बायर्नको जितमा किङ्सले कोमानले दुई तथा थोमस मुलर जमल मुसिएलाले समान एक गोल गरे । घरेलु टोली वल्फ्सवर्गका जाकुव कामिन्स्की र स्भेनवर्गले गोल फर्काए ।
भोक्सवागेन एरिना वल्फ्सवर्गमा आइतबार राति भएको खेलको नवौं मिनेटमा किङ्सले कोमानको गोलबाट बायर्नले अगता लिन सफल भयो । उनले अलफन्सो डाभिसको पासमा गोल गर्न सफल भए ।
१४औं मिनेटमा कोमानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले जोआओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।
१९औं मिनेटमा थोमस मुलरले योसुवा किम्मिखको पासमा गोल गरेपछि बायर्न ३–० ले अघि बढ्यो । ४४औं मिनेटमा जाकुवले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को स्थितिमा ल्याए । ५४औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिन पुग्यो । योसुवा किम्मिख दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
७४औं मिनेटमा जमल मुसिएलाले बेन्जामिन पाभार्डको पासमा गोल गर्दै बायर्नलाई जिततर्फ अघि बढाए । त्यसपछि ८१औं मिनेटमा म्याटिएस स्भेनवर्गले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि बायर्न विजयी हुन सफल भयो ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको १० खेलबाट ४० अंक पुगेको छ । समान खेलबाटै युनियन बर्लिनको ३९ अंक छ । पराजित वल्फ्सवर्ग २९ अंक जोडेर सातौं स्थानमा छ ।