युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरणमा फ्रान्स र जर्मनीका च्याम्पियन क्लब आमनेसामने हुँदैछन् । मंगलबार राती हुने पहिलो लेगको खेलमा उपाधिको दावेदारका रुपमा हेरिएका पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदान पार्क डे प्रिन्सेसमा बायर्न म्युनिखको सामना गर्नेछ ।
घरेलु फुटबलमा लगातार दुई हार बेहोरेपछि निकै दबाबमा रहेको पिएसजी बायर्नविरुद्ध खेलअघि सिजनकै सबैभन्दा खराब अवस्थामा छ । एकातर्फ खराब नतिजा र अर्कोतर्फ स्टार खेलाडी घाइते हुँदा प्रशिक्षक क्रिस्टोफ गाल्तिएर समक्ष ठूलो चुनौती छ । पहिलो लेगको खेलमा सकारात्मक नतिजा निकाल्न टोलीलाई कठिन देखिन्छ ।
फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पे खेलका लागि उपलब्ध नहुने लगभग पक्का छ । यसैपनि चोटका कारण उनीमाथि क्लबले जोखिम उठाउन चाहेको छैन । त्यस्तै अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी पनि चोटका कारण पछिल्लो खेलमा अनुपस्थित थिए । उनले सोमबार हुने प्रशिक्षणमा कस्तो गर्छन् हेरेर मात्र बायर्नविरुद्ध खेल्नेबारे निर्णय हुनेछ ।
पिएसजीले च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ नेयमार र एमबाप्पे हुँदाहुँदै लिओनेल मेस्सीलाई अनुबन्धन गरेको थियो । तर महत्त्वपूर्ण खेलअघि तीन खेलाडीमध्य दुई घाइते हुँदा टोलीमा समस्या परेको छ । अझ नेयमार यस सिजन सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । उनी पनि चोटबाट फर्किएका हुन् ।
फ्रेन्च कपमा मार्सेविरुद्ध हार बेहोरेपछि अब लिग र च्याम्पियन्स लिग पिएसजीको लागि अपरिहार्य उपाधि देखिन्छ । क्लब व्यवस्थापनले लामो समयदेखि च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएपनि टोली सफल हुन सकेको छैन ।