इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पहिलो खेलमै अंक बाँडेको छ।
आज भएको खेलमा लिभरपुलले यसैसिजन बढुवा भएको फुलह्यामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। घरेलु मैदानमा फुलह्यामले ३२ औं मिनेटमा अग्रता लिएको थियो।
उसका लागि एलेक्जेन्डर मिट्रोभिले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको लिभरपुलले ६४ औं मिनेटमा बराबरी गरेको थियो। लिभरपुलका लागि ग्याब्रिएल नुनेजले गोल गरेपछि खेल बराबरीमा आएको थियो।
७२ औं मिनेटमा मिट्रोभिले पेनाल्टीमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेपछि फुलह्यामले अग्रता २–१ को लिएको थियो। मोहम्मद सलाहले ८० औं मिनेटमा गोल गरेपछि लिभरपुल हारबाट जोगिदै एक अंक लिन सफल भयो।