युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्सले पोल्यान्डमाथि जित निकालेको छ । नेदरल्यान्ड्सले पोल्यान्डमाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।
नेदरल्यान्ड्सको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।वार्सजावामा बिहीबार राति भएको खेलको १३औं मिनेटमा कोडे गाक्पोको गोलबाट नेदरल्यान्ड्सले सुरुवाती अग्रता लिन सफल भयो ।
उनले डेन्जेल डमफ्रेजको पासलाई सदुपयोग गरेका थिए । ६०औं मिनेटमा स्टेभन वर्ग वाइनले भिन्सेन्ट जान्सेनको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा नेदरल्यान्ड्स विजयी हुन सफल भयो ।
यस जितसँगै अपराजित नेदरल्यान्ड्स लिग ए ग्रुप ४ मा ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा बेल्जियमले वेल्सलाई २–१ ले पराजित गरेको छ । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल फर्काए ।
यस जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।
अन्य नतिजा
क्रोएसियाविरुद्ध डेनमार्क (२–१) र फ्रान्सविरुद्ध अष्ट्रिया (२–०), लिथुआनियाविरुद्ध फारोइ आइल्यान्ड (१–१), टर्कीविरुद्ध लक्जेमवर्ग (३–३), स्लोभाकियाविरुद्ध अजरवैजान (१–२), लिचेस्टाइनविरुद्ध एन्डोरा (०–२), काजकस्तानविरुद्ध बेलारुस (२–१) र लात्भियाविरुद्ध मोल्दोभा (१–२)