पोर्चुगलमाथि झिनो जित निकाल्दै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । स्पेनले घरेलु टोलीलाई १–० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो ।
स्पेनको जितमा खेलको अन्तिम समयमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा निको विलियम्सको पासमा गोल गर्न सफल भएका थिए ।
स्टेडियो म्युन्सिपल ब्रागामा मंगलबार राति भएको खेलको घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि स्पेनको गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो ।
२१औं मिनेटमा डिएगो जोटाबाट आएको पासमा रोनाल्डोले मिलाइदिएको पासमा कार्भाल्होको प्रहारले पोस्टको दिशा लिन सकेन । ३७औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
४७औं मिनेटमा रोनाल्डोको चलाखीपूर्ण पासमा जोटाको प्रहारलाई स्पेनका गोलरक्षकले नियन्त्रणमा लिन सफल भए । ७०औं मिनेटमा कार्भाल्होको फ्रिकिकमा रुवेन डियासको प्रहारले गोलरक्षक सिमोन बिट भएपनि ड्यानी कार्भाजलले बचाए ।
८८औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए । उनले निको विलियम्सको पासलाई सदुपयोग गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए । ९०औं मिनेटमा रोनाल्डोले बराबरीको सुवर्ण अवसर पाएपनि उनको प्रयासलाई गोलरक्षक सिमोनले बचाए ।
यस जितसँगै स्पेन नेसन्स लिग ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले ९ तथा चेक रिपब्लिकले ४ अंक जोड्यो ।
यही समूहको अर्काे खेलमा स्वीट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । स्वीट्जरल्यान्डका रेमो फ्रुउलेर र ब्रिल इम्वोलोले गोल गर्दा चेक रिपब्लिकका प्याट्रिक सिकले एक गोल फर्काए ।
यसअघि क्रोएसिया, नेदरल्यान्ड्स र इटालीले फाइनल फोरमा स्थान बनाएका छन् ।