युइएफए नेसन्स लिगमा सानदार जित निकाल्दै पोर्चुगल शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलले घरेलु टोली चेक रिपब्लिकलाई ४–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।
अर्काे खेलमा स्पेनले स्वीट्जरल्यान्डसँग हार बेहोरेपछि पोर्चुगललाई शीर्षस्थानमा पुग्न सहज बन्यो । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक गोल गरे ।
सिम्वो रंगाला प्राहामा शनिबार राति भएको खेलको ३३औं मिनेटमा डिएगो डालोटको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिन सफल भयो । उनले राफायल लियोको पासमा गोल गर्न सफल भए ।
पहिलो हाफको थप गरिएको इन्ज्युरी समयको दोस्रो मिनेटमा ब्रुनो फनाएन्डेसले मारियो रुइको पासमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएपनि प्याट्रिक सिक चुक्दा अन्तर कम गर्नबाट चुक्यो ।
५२औ मिनेटमा डिएगो डालोटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पोर्चुगल सहज जिततर्फ अग्रसर बन्यो । उनले ब्रुनोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि परिवर्तित खेलाडी डिएगो जोटाले कप्तान क्रिष्टियानो रोनाल्डोको पासमा गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए ।
यस जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई बाट ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित चेक ४ अंक जोडेर पुछारमा रहेको छ । स्पेनको ८ तथा स्वीट्जरल्यान्डको ६ अंक छ । यही समूहको अर्काे खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको छ ।
पोर्चुगलको जित र स्पेनको हारसँगै यस समूह लिग ए ग्रुप दुई बाट प्ले अफ र रेलिगेसनको दौड रोमाञ्चक बनेको छ । अब समूह चरणको अन्तिम खेलमा पोर्चुगल र स्पेन तथा स्वीट्जरल्यान्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ । पोर्चुगल र स्पेनमा विजयी हुने टोली प्ले अफमा पुग्नेछ । अर्काे खेलमा पराजित हुने टोली रेलिगेसनमा पर्नेछ ।