परिवर्तित खेलाडी पेड्रो रोड्रिग्वेजले एक गोलसँगै एक असिस्ट दिएपछि इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले लाजियोसँग हार बेहोरेको छ ।
इन्टर मिलान घरेलु टोली लाजियोसँग ३–१ ले पराजित भएको हो । स्टेडियो ओलम्पिको रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा फिलिपे एनडरसन, लुइस अल्बर्टाे र पेड्रो रोड्रिग्वेजले गोल गरे । इन्टरका लोउटारो मार्टिनेजले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा फिलिपे एनडरसनको गोलबाट लाजियोले सुरुवाती अग्रता लिन सफल भयो । उनले सेरगेज मिलिन्कोभिक साभिकको पासमा गोल गर्न सफल भए । ५१औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्टिनेजले डेन्जेल डमफ्रेजको पासमा गोल गर्न सफल भए ।
७५औं मिनेटमा परिवर्तित खेलाडी लुइस अल्बर्टाेले अर्का परिवर्तित खेलाडी पेड्रो रोड्रिग्वेजको पासमा गोल गर्दै लाजियोलाई २–१ को अग्रता दिलाए । अल्बर्टाे र पेड्रो ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए । ८६औं मिनेटमा पेड्रो रोड्रिग्वेजले सिरो इमोविलेको पासमा गोल गर्दै लाजियोको जित पक्का गर्दा इन्टरलाई पहिलो हार चखाए ।
यो जितसँगै अपराजित रहेको लाजियो ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको इन्टर ६ अंक जोडेर चौथौ स्थानमा रहेको छ । समान ६ अंक रहेपनि नेपोली र रोमा गोल अन्तरमा इन्टरभन्दा अघि छ ।