स्पेनिस युवा मिडफिल्डर पेड्रीको निर्णायक गोलमा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ ।
बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि १–० को झिनो जित दर्ता गर्दै शीर्षस्थानमा फराकिलो अग्रता कायम गर्न सफल भएको हो ।
भिल्लारियलमा आइतबार राति भएको खेलमा पेड्रीले पहिलो हाफका गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले १८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलले अग्रता बनाएको बार्सिलोनाले त्यसपछि बल पोसेसन गुमाएपनि आफ्नो अग्रतालाई जोगाउँदै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।
पछिल्लो खेलमा बार्सिलोनाले जित निकाल्दा २० वर्षीय मिडफिल्डर पेड्रीको गोल निर्णायक सावित भइरहेको छ । यसअघि गेटाफे र जिरोनामाथिको १–० को जितमा पनि पेड्रीको गोल निर्णायक बनेको थियो । पेड्रीले यो सिजन ला लिगामा २१ खेलमा ६ गोल गरिसकेका छन् ।
ला लिगामा बार्सिलोनाको यो लगातार छैटौं जित हो । ३१ डिसेम्वर २०२२ मा स्पान्योलसँग १–१ गोलको बराबरीपछि बार्सिलोनाले ला लिगामा सबै ६ खेलमा जित हात पारेको छ । यस्तै बार्सिलोना १६ अक्टोवर २०२२ मा रियल म्याड्रिडसँग ३–१ ले पराजित भएयता ला लिगामा १२ खेलसम्म अपराजित छ । जसमा ११ जित र १ हारको नतिजा छ ।
यस्तै बार्सिलोनामा समग्रमा १६ खेलसम्म अपराजित रहेको छ । २७ अक्टोवर २०२२ मा युइएफए च्याम्पियन्स लिगको समूह चरणमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भएयता बार्सिलोनाले १४ जित र २ बराबरीको नजिता निकालेको छ ।
यस जितसँगै शीर्षस्थानको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ११ अंकले पछि पारेको छ । बार्सिलोनाको २१ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ४५ अंक छ । पराजित भिल्लारियल ३१ अंक जोडेर आठौं स्थानमा छ ।
अन्य नतिजा
गेटाफेविरुद्ध रायो भालेकानो (१–१)
सेल्टा डि भिगोविरुद्ध एट्लेटिको म्याड्रिड (०–१)
रियल भालाडोलिडविरुद्ध ओसासुना (०–०)