फ्रान्सको लिग १मा गत सिजनको च्याम्पियन पीएसजी बराबरीमा रोकिएको छ । पीएसजी टालाउजसँग १–१ गोलको बराबरीमा रोकिएको हो । जारी सिजनमा यो पीएसजीको लगातार दोस्रो बराबरी हो । सिजनको पहिलो खेलमा पनि पीएसजी लोरेन्ट गोलरहित बराबरीमा रोकिएको थियो ।
टालाउजको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६२ औं मिनेटमा पीएसजीले पेनाल्टी गोल मार्फत खेलमा अग्रता बनाएको थियो । उसका लागि जारी सिजनमा पीएसजीका लागि पहिलो खेल खेलेको केलियन एम्बाप्पेले गोल गरेका थिए ।
त्यसपछि खेलको अन्तिम समयमा टालाउजले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो । जाकारिया आबोख्लालले गोल गरेका हुन् ।
बराबरीसँगै टालाउज दुई खेलबाट चार अंकका साथ लिगको तेस्रँे स्थानमा रहँदा दुई अंक रहेको पीएसजीको आठौं स्थानमा रहेको छ
त्यस्तै अर्को खेलमा लियोन मोन्टेपेलियरसँग ४–१ गोलले पराजित भएको छ । मोन्टेपेलियरको जितमा मौसा अल टमारीले दुई गोल गर्दा अर्नाउड नोर्डिन र एकोर जेरोमी अडाम्सले एक एक गोल गर्दा लियोनका लागि अलेक्जान्द्रे लासाजिट्टीले एक गोल फर्काएका थिए ।
खेलको २० औं मिनेटमा अर्नाउड नोर्डिनले गोल गर्दै मोन्टेपेलियरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३९ औं मिनेटमा मौसाले गोल गर्दै मोन्टेपेलियरलाई दुई गोलको अग्रता दिलाए । त्यसपछि खेलको ६६ औं मिनेटमा मौसाले टोलीका लागि तेस्रो तथा ब्याक्तिगत दोस्रो गोल गरे ।
खेलको ६९ औं मिनेटमा अलेक्जान्द्रे लासाजिट्टीले लियोनका लागि एक गोल फर्काए भने अडाम्सले खेलको ८९ औं मिनेटमा गोल गर्दै मोन्टेपेलियरलाई ४–१ गोलको जित दिलाए ।
जितसँगै मोन्टेपेलियर दुई खेलबाट ४ अंकका साथ लिगको शीर्षस्थानमा उक्लेको छ ।