अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।
अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका ३५ वर्षीय मेस्सीको पिएसजीमा सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ । उनले पिएसजीमा थप १ वर्षको सम्झौता नविकरण गर्न सहमत भएको बुझिएको छ ।
यसै साताको सुरुमा बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले २१ वर्ष क्याटलान क्लब बार्सिलोनामा बिताएका मेस्सी क्लबमा फर्कन सक्ने बताएपनि बार्सिलोनाले मेस्सीलाई फर्काउने विषयमा सम्पर्क नगरेको बताइएको छ ।
उनले अर्को वर्षको विकल्पका साथ थप एक वर्षको सम्झौता गर्ने बुझिएको छ । पिएसजीका फुटबल निर्देशक लुइस क्याम्पोस र मेस्सीका पिता जोर्जबीच चार महिनाको वार्तापछि यो सम्झौता सम्भव भएको हो ।
त्यसपछि दोहामा पीएसजीका अध्यक्ष नासेर अल खेलाफीसँगको महत्वपूर्ण बैठक भएको थियो । ‘मेस्सी यो सबैसँग खुसी छन् र आफ्नो छुट्टीबाट फर्किएपछि सम्झौताले पूर्ण रुप लिनेछ । पेरिसमा उनी खुशी छन् । सबैले रमाइलो गरिरहेका छन् र उनीसँग फेरि च्याम्पियन्स लिग जित्ने सम्भावना छ । साथै, उनी पुनः बालोन डिओरको दावेदार बन्नेछन् ।
फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक उपाधि जित्दा सात पटकको बालोन डी’ओर विजेता विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए ।
बार्सिलोना छोडेपछि, मेस्सीले २०२१ मा तेस्रो वर्षको विकल्पसहित फ्रि ट्रान्सफरमा दुई वर्षको लागि पिएसजीमा सम्झौता गरेका थिए । मेस्सीले पिएसजीका लागि हालसम्म ५३ खेल खेल्दा २३ गोल गरेका छन् ।
मेस्सीले अहिलेसम्म एक विश्वकप, चार च्याम्पियन्स लिग उपाधि, एक कोपा अमेरिका, बार्सिलोनासँग १० ला लिगा ट्रफी र पीएसजीसँग फ्रान्समा लिग १ को उपाधि जितेको छ ।
आफ्नो समयका उत्कृष्ट खेलाडीहरू मध्ये एक मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका छन् । उनी १३ वर्षको उमेरमा बार्सिलोनामा सामेल भएका थिए ।
उनले २०२१ मा क्याटलान क्लबसँगको सम्झौता समाप्त गरेका थिए । ला लिगाको तलब सीमाको कारणले उनीहरूसँग सहमत भएका नयाँ सम्झौतालाई सम्मान गर्न सकेनन् ।