फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको दोस्रो हार बेहोरेको छ ।पिएसजी घरेलु टोली रेन्नेससँग १–० ले स्तब्ध बनेको हो ।
पिएसजीलाई स्तब्ध पार्न रेन्नेसका हामरी ट्राओरेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६५औं मिनेटमा एड्रिएन ट्रफफर्टको पासमा गोल गर्न सफल भएका थिए ।
घरेलु टोली रेन्नेसलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको पिएसजीले उल्टै गोल खान पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजीले सिजनको दोस्रो हार बेहोर्न पुग्यो । पिएसजीले यसअघि २ जनवरीमा लेन्ससँग ३–१ ले पराजित भएको थियो ।
यस हारपछि पनि पिएसजी १९ खेलबाट ४७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पिएसजीलाई पछ्याइरहेको लेन्सको ४४ अंक छ । पिएसजीलाई हराएको रेन्नेस ३७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ