फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्तिएर रंगभेदको आरोपमा शुक्रबार पक्राउ परेका छन् ।
अप्रिलमा उनीविरुद्ध फ्रान्सकै अर्को क्लब निसको प्रशिक्षक रहँदा रंगभेदी टिप्पणी र भेदभाव गरेको आरोप लागेको थियो । शुक्रबार ५६ वर्षीय प्रशिक्षकलाई प्रहरीले पक्राउ गरि आवश्यक सोधपुछ गरेको हो । उनी डिसेम्बर १५ मा निसको अदालतमा उपस्थित हुनुपर्ने छ ।
अप्रिलमा गाल्तिएरले निसका मालिकलाई लेखेको इमेल सार्वजनिक भएको थियो । त्यसबेला उनले निसको टोलीमा काला र मुस्लिम खेलाडी धेरै भएको टिप्पणी गरेका थिए । गाल्तिएरले उक्त आरोपको खण्डन गरेपनि अनुसन्धानका क्रममा उनीमाथि छानविन हुनुपर्ने देखिएको हो ।
गत सिजन पिएसजीलाई लिग उपाधि दिलाएपनि च्याम्पियन्स लिगमा भने क्लबले अन्तिम १६ चरण पार गर्न सकेको थिएन । पिएसजीले यस सिजनका लागि विकल्प खोज्न थालिसकेको छ । स्पेनिस प्रशिक्षक लुइस इन्रिके विकल्पका रुपमा आएका छन् ।