पाकिस्तान आइसिसी विश्वकप एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना रहेको छ । आगमी अक्टोबर नोभेम्बरमा १० टोलीबीच भारतमा हुने विश्वकपमा दुई देशको आन्तरिक राजनीतिको कारण पाकिस्तान नजाने सम्भावना रहेकोछ । पाकिस्तानले विश्वकपका खेलहरु बंगलादेशमा खेल्ने सम्भावना छ ।
भारत एसिया कप खेल्न पाकिस्तान नजाने औपचारिक रुपमै जनाएको छ । एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुँदैछ । तर एसिया कपमा भारतसँगको खेल भने तटस्थ भूमि (नेचुरल भेन्यू) मा हुनेछन् । तटस्थ भूमिको रुपमा युएई, श्रीलंका, इंग्ल्यान्ड र ओमानमा चर्चा रहँदै आएको छ। युएईमा हुने उच्च सम्भावना छ ।
पाकिस्तानले पनि विश्वकप बंगलादेशमा खेल्ने छलफल सुरु भएको छ । एसिया कपकै मोडलमा पाकिस्तानले बंगलादेशमा विश्वकप खेल्ने योजना बनाएकोछ । दुई साताअघि दुबईमा भएको आइसिसीको बोर्ड बैठकमा यस विषयमा छलफल भएको थियो ।
बोर्ड बैठकमा पाकिस्तान र भारत दुबै देशको एसिया कप र विश्वकप एजेन्डाको रुपमा रहेका थिए । भारत पाकिस्तान एसिया कप खेल्न नजादा २०२५ को च्याम्पियन्स ट्रफीमा समेत असर पर्ने अनुमान गरिएको छ । पाकिस्तानले २०२५ मा फेब्रुअरीमा च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ ।
२०१७ को फाइनलमा भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । त्यसपछि च्याम्पियन्स ट्रफी आइसिसीले हटाएको थियो । च्याम्पियन्स ट्रफीमा आइसिसीका ओडिआई वरियताका शीर्ष ८ टोलीले खेल्नेछन् । त्यसैको कारण पाकिस्तान क्रिकेट बोर्डले भारतले एसिया कपमा लिने निर्णयले विश्वकपमा आफु जाने वा नजाने निर्णय लिने बताएकोछ।
विकल्पको रुपमा बंगलादेश प्रस्ताव गरिएको छ । २०१८ मा पनि पाकिस्तानले एसिया कप आयोजनाको अधिकार पाएको थियो । तर भारतको कारण एसिया कप युएईमा भएको थियो । भारत पाकिस्तान नगएमा पाकिस्तान पनि भारत नजाने उच्च सम्भावनाछ ।
नेपाललाई पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर छ । एसिसी प्रिमियर कप ५ देखि १८ गतेसम्म नेपालमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह बी मा अफगानिस्तान, श्रीलंका र बंगलादेश छन् ।
विश्वकप भने अक्टोबर ५ देखि भारतमा सुरु हुनेछ । नेपालले विश्वकप खेल्न आगमी जुन जुलाईमा जिम्बावेमा हुने छनोटमा सुपर सिक्स हुँदै शीर्ष दुईमा पर्नुपर्ने हुन्छ ।
विश्वकप छनोटमा सुपर लिगका पुछारका चार टोली, लिग २ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफका शीर्ष दुई गरि कुल १० टोली हुनेछन् । दुई समूहमा विभाजन गरिनेछ । सुपर सिक्स हुँदै शीर्ष दुईमा रहने टोलीले विश्वकप खेल्न पाउनेछन् ।