अफगानिस्तानले क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराउँदै इतिहास रचेको छ । अफगानिस्तानले पहिलो टि२० आई खेलमा शुक्रबार राती पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानविरुद्ध कुनैपनि खेलमा अफगानिस्तानले जित निकालेको यो पहिलो पटक हो ।
जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।अफगानिस्तानको जितमा मोहम्मद नाबी ३८ बलमा ३ चौका र १ छक्कासहित ३८ रनमा अविजित रहे । नाजिबउल्लाह जद्रान २३ बलमा २ चौकासहित १७ रनमा अविजित रहे । एक समय ४५-४ को अवस्थामा पुगेको अफगानिस्तानलाई नाबी र जद्रानले ४८ रनको अविजित साझेदारी गरेका थिए ।
तीव्र गतिका बलर इहसानउल्लाहले करिअरकै पहिलो बलमा इब्राहिम जद्रानलाई ९ रनमा आजम खानबाट क्याच गराएका थिए । गुलबदीन नाइब पनि शुन्यमा क्याच आउट भए । नसिम साहको बलमा रहमानउल्लाह गुरबाज अब्दुल्लाह शफिकबाट १६ रनमा क्याच आउट भएका थिए ।
इमाद वासिमले करिम जन्नतलाई ७ रनमा बोल्ड गरे । पाकिस्तानका इहसानउल्लाहले ३.५ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । नसिम शाह र इमाद वासिमले एक एक विकेट लिए ।
त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनायो । पाकिस्तानले बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, फखार जमान शाहिन शाह अफ्रिदी, हरिस रौफ लगयात आफ्ना प्रमुख खेलाडीलाई यस सिरिजमा विश्राम दिएको छ । नयाँ खेलाडीलाई मौका दिएको थियो ।
पाकिस्तानका इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाए । डेब्यू खेल खेलेका सैम अयुब १५ बलमा २ चौका र १ छक्कासहित १७ रनमा आउट भए । मोहम्मद हरिस ६, शफिक शून्य, तयाब ताहिर १६ र आजम खान शून्यमा आउट भए ।
शादब खानले १८ बलमा १२ रन बनाए ।
अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले दुई दुई विकेट लिए । कप्तान राशिद खान, नविन उल हक र आजमतुल्लाह ओमरजाईले एक एक विकेट लिए ।
दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ । सबै खेल शारजाहमा हुनेछन् । पाकिस्तानले पहिलो खेलमा जमान खान, इहसानउल्लाह, सैम अयुब र तयाब ताहिरलाई डेब्यू दिएको थियो ।