उपाधिको प्रमुख दाबेदार मानिएको भारत युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरबाटै बाहिरिएको छ । बुधबार राती पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराएसँगै भारत औपचारिक रुपमा बाहिरिएको हो ।
भारत सुपर फोरमा अंक विहीन छ । तर श्रीलंका र पाकिस्तान समान ४–४ अंकका साथ फाइनलमा पुगेका छन् । भारतले बिहीबार अफगानिस्तानसँग खेल्नेछ । यी दुई टोली मध्य विजयी टोलीको दुई अंक मात्र हुनेछ ।
भारत सुपर फोरमा पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । उक्त खेलमा भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । दोस्रो खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो ।
भारतले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । श्रीलंकासँगको हारसँगै भारतको फाइनल सम्भावना सकिएको थियो । अंक गणीतिय झिनो सम्भावना मात्र थियो । दुबै खेल पाकिस्तानले हारेको खण्डमा मात्र भारत फाइनलमा पुग्ने थियो । तर पाकिस्तानको जितसँगै भारत बाहिरिएको छ ।
पाकिस्तानले अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलले कुन टोली शीर्ष र दोस्रो स्थानमा रहने निर्धारण गर्नेछ । आइतबार श्रीलंका र पाकिस्तान नै उपाधिको लागि खेल्नेछन् ।
बुधबार पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्यो । जितको लागि पछ्याएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो । क्रिजमा नसिम शाह थिए । नसिमले फजलहक फारुकीलाई पहिलो र दोस्रो बलमा छक्का हान्दै पाकिस्तानलाई अविस्मरणीय फाइनलमा पुर्याए ।