फिफा विश्वकप कतार २०२२ अन्तर्गत स्पेनले समूह ई को दोस्रो खेलमा कोस्टारिकामाथि गोलको वर्षा गरेको छ । अल थुमामा रंगशालामा प्रतियोगिताको पहिलो खेल खेलिरहेको स्पेनले ७-० को सानदार जित दर्ता गर्यो ।
स्पेनले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल गरेको थियो । बल पोसेसन राख्नका लागि माहिर स्पेनले आक्रमणमा नियमित खेलाडी परिवर्तन गर्ने रणनीति बनाएको थियो । त्यसैको फलस्वरुप स्पेनका ६ फरक खेलाडीले गोल गरे । फेरान टोरेसले २ गोल गर्दा गाभी, ड्यानी ओल्मो, अल्भारो मोराटा, कार्लोस सोलेर र मार्को एसेन्सियोले १-१ गोल गरे ।
खेलको ११ औं मिनेटमा ओल्मोले स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । गाभीले दिएको पासलाई ओल्मोले गोलमा परिणत गर्दै विश्वकपमा स्पेनका लागि गोलको शतक समेत पूरा गरेका थिए ।
२१ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो । जोर्डी अल्बाको क्रसमा एसेन्सियोको प्रहार गोल भएको थियो । गोलरक्षक केलर नाभासको बचाउने प्रयास सफल नहुँदा स्पेन २-० ले अघि बढेको थियो ।
३१ औं मिनेटमा स्पेनले पेनाल्टीमार्फत गोल थप्यो । अल्बालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा फेरान टोरेसले गोल गरे ।
दोस्रो हाफको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्र डिफेन्डरको दबाब चिर्दै गोल गरेका थिए ।
७४ औं मिनेटमा टिनएज मिडफिल्डर गाभीले गोल गरे । उनले अल्भारो मोराटाको चिप पासलाई पेनाल्टी क्षेत्र बाहिरबाट आउटसाइड फुटले प्रहार गरेका थिए । उनको प्रहार पोस्टमा लाग्दै गोल भएको थियो ।
९० औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै स्पेनको आधा दर्जन गोल पुर्याए । इन्ज्युरी समयमा मोराटाले ओल्मोको पासको सदुपयोग गर्दै ७-० को अग्रता दिलाए ।
फराकिलो जितसँगै स्पेन समूहको शीर्ष स्थानमा उक्लिएको छ । स्पेन र जापानको समान ३-३ अंक छ । जापानले यसअघि समूहको पहिलो खेलमा जर्मनीलाई २-१ ले हराएको थियो ।