नेपाली महिला क्रिकेट टोलीकी अनुभवी ब्याटर नेरी थापाको अर्धशतकमा क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । योसँगै सिरिज उपाधि पनि नेपाली महिला क्रिकेट टोली सम्मिलित क्यान ११ ले जितेको छ
जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको क्यान ११ ले ३९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपाली महिला क्रिकेट टोलीका खेलाडी सम्मिलित क्यान ११ लाई जिताउन नेरी थापाले ९८ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाइन् । अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् ।
ओपनर काजल श्रेष्ठ ८, कविता कुँवर १८, सम्झना खड्का ११, इन्दु बर्मा ४, रुविना क्षेत्री १६, सीतारानामगर ३, रोमा थापा १० र कविता जोशीले ४ रन बनाइन् ।
एमसिसीको लागि अमान्डा पोटेगरले ८ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिइन् । इसाबेल गुर्नीले दुई विकेट लिइन् । त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको एमसिसीले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।
एमसिसीको लागि इंग्ल्यान्डकी पूर्व स्टार खेलाडी क्लेयर टेलरले ९८ बलमा ३ चौकासहित सर्वाधिक ५५ रन बनाइन् । जेनी २५, मिया रोजर्स १८ र आमान्डाले २६ रन बनाइन् ।
एमसिसीले नेपालमा ६ खेलको सिरिज खेलेको थियो । जसमा आइसिसी यू१९सँग एक, मिक्सड ११ सँग दुई र क्यान ११ सँग तीन खेल खेलेको थियो । आइसिसी यू१९ बाहेक अन्य सबै खेलमा एमसिसी पराजित हुन पुग्यो ।