ब्राजिली फरवार्ड नेयमार र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सहज जित हात पारेको छ ।
पिएसजीले टुलुजमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल जुआन बर्नाटले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि पिएसजीले खेलको ३७औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो ।
लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भए । उच्च लयमा रहेको नेयमारले यो सिजन फ्रेन्च लिग वानमा ५ खेल खेल्दा ७ गोल गर्नुका साथै ६ असिस्ट दिइसकेका छन् । उनले पिएसजीका लागि ६ खेलमा ९ गोल गरिसकेका छन् ।
५०औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा परिवर्तित जुआन बर्नाटले गोल गर्दै पिएसजीको जित पक्का गरे । बर्नाट ८३औं मिनेटमा नुनो मेन्डिसको स्थानमा मैदान छिरेका थिए ।
यस जितसँगै अपराजित रहेको पिएसजी ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १३ अंक नै रहेपनि लेन्स र मार्से गोल अन्तरमा पिएसजीभन्दा पछि छ । पराजित टुलुज ५ अंक जोडेर १३औं स्थानमा छ ।