ब्राजिली फरवार्ड नेयमार जुनियरले रातो कार्ड खाएको खेलमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित निकालेको छ ।
पिएसजीले घरेलु मैदानमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको स्टार्सवर्गमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा मार्किन्हस र केलियन एमबाप्पेले गोल गरे । स्टार्सवर्गले उपहार गोल पाएको थियो ।
पार्क डेस प्रिन्सेसमा बुधबार राति भएको खेलमा पिएसजीले ७१ प्रतिशत बल पोसेसन राखेपनि जितको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
खेलको १४औं मिनेटमा मार्किन्हसले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले नेयमारको फ्रिकिकलाई हेडरमार्फत बललाई पोस्टको दिशा दिएका थिए ।
५१औं मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि स्टार्सवर्गले खेललाई १–१ गोलको बराबरीमा ल्याए । एड्रिएन थोमासनको क्रस मार्किन्हसलाई डिफ्लेक्ट हुँदा गोलरक्षक जियानलुइजी डोन्नररुम्माले बचाउन सकेनन् ।
त्यसपछि दुई मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै नेयमार मैदानबाट बाहिरिदा पिएसजी दवावमा परेको थियो । ६१औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका नेयमारले त्यसको एक मिनेटपछि नै पेनाल्टी बक्समा अनावश्यक डाइभ गरेको भन्दै रेफ्री क्लेमेन्ट टुर्पिनले अर्काे पहेलो कार्डसहित रातो कार्ड देखाएर मैदान बाहिर पठाउँदा पिएसजी १० खेलाडीमा समेटिन पुग्यो ।
१० खेलाडीमा समेटिएपनि पिएसजीले पाहुना टोलीमाथि लगातार दवाव सिर्जना गरिरह्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २–१ को रोमाञ्चक जित दिलाए । पेनाल्टी बक्समा आँफैलाई न्याम्सीले फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गर्दा एमबाप्पे चुकेनन् ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको लेन्सको ३६ अंक छ । पराजित स्टार्सवर्ग ११ अंक जोडेर १९औं स्थानमा छ ।