नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् ।
आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको कार्यक्रममा क्यान अध्यक्ष चन्दले यस्तो बताएका हुन् । उनले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रुपमा क्यानले लिएको बताए ।
उनले क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको पनि बताए ।
उनले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभइ खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रुपमा क्रिकेटलाई राख्न आग्रह गरे । उनले भने, ‘यो विजयबाट नेपाली क्रिकेट एक तह माथि पुगेको भन्ने नेपाल क्रिकेट संघले महशुस गरेको छ । क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित हुँदैन, राज्यको यसमा ध्यान जान जरुरी छ ।’
आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गरे । उनले बिहीवार युएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शकहरु पुगेको बताए ।