काठमाडौँ — नेपालले यू–२० साफ च्याम्पियनसिपको आफ्नो अन्तिम लिग चरणको खेलमा मंगलबार बांग्लादेशसँग १–१ खेलेको छ । यो नतिजापछि बांग्लादेश फाइनल प्रवेश गर्न सफल रह्यो । नेपालको भाग्य भने मंगलबार नै भारत र माल्दिभ्सबीच हुने खेलमा निर्भर हुनेछ । बांग्लादेशको चार खेलबाट १० अंक भएको छ ।
नेपालको भने समान चार खेलबाट सात अंक भएको छ । एक खेल कम खेलेको भारतको छ अंक छ । लिग चरणको अन्तिम खेलमा माल्दिभ्सले भारतलाई हराउने हो भने नेपालका लागि फाइनलको ढोका खुल्नेछ । जित र बराबरीमा भने भारत फाइनल पुग्नेछ । भुवनेश्वरस्थित कलिंगा रंगशालामा भएको खेलमा बांग्लादेशले ६४ औं मिनेटमा नोभाको गोलले अग्रता लिएको थियो ।
तर बांग्लादेशको यो अग्रता चार मिनेट मात्र कायम रह्यो । नेपालका लागि निराजन मल्लले ६८ औं मिनेटमा पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरे । पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने अक्रमण बुन्न सकेनन् र खेल निराश रह्यो । तर गोलरहित बराबरीपछि दोस्रो हाफ भने रोमाञ्चक रह्यो ।
दोस्रो हाफ सुरु हुनेबित्तिकै दुवै टिम १०/१० खेलाडीमा सीमित रहे । बांग्लादेशका सहिदुल इस्लाम र नेपालका दिपेश गुरुङलाई रातो कार्ड देखाइएको थियो । यस्तै बेन्चमा रहेका नेपाली खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाए । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्ध हार बेहोरेको थियो ।